चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गरिने : वाणिज्य विभाग
काठमाण्डौँ, सरकारले चाडपर्वलक्षित बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चाडपर्वका बेलामा बजारमा हुन सक्ने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यका साथ आउँदो सातादेखि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको हो ।
विभागका महानिर्देशक राजन पौडेलले थप कर्मचारी माग गरिसकेकाले आउँदो सातादेखि चाडपर्वमा बढी खपत हुने सामानमा केन्द्रित भएर १० वटा टोलीले अनुगमन गर्ने जानकारी दिनुभयो ।
सामान्य अवस्था चार वटा टोलीले अनुगमन गर्दै आएकोमा चाडपर्वका बेलामा १० वटा टोलीले छुट्टाछुट्टै वस्तुको अनुगमन गर्ने गरी तयारी गरेको पनि बताए ।
बजार अनुगमनको नेतृत्व वाणिज्य विभागले लिए पनि बजार अनुगमन सबै सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन गरिने विभागले जनाएको छ ।
विभागका अनुसार चाडपर्वलक्षित अनुगमनमा बेला खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूललगायतका खुद्राभन्दा पनि थोक र आपूर्तिकर्ताको गोदाममा अनुगमन गरिने जनाएको छ ।
चाडपर्वको समयमा व्यापारीहरूले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्नेलगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाउँदै आएको छ । विभागले सबै अनुगमन टोलीलाई वस्तु र क्षेत्र नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइने महानिर्देशक पौडेलले बताए ।
बजार अनुगमन व्यवसायीलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले नभएर बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्रीवितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनका क्रममा कारबाहीको दायरामा ल्याउने विभागको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्