२०८१ आश्विन २

नेपाली काँग्रेसले आगामी चुनाव २०८४ एकलै लड्ने, कसैसँग तालमेल नगर्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेसले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने प्रस्ताव अन्ततः  सर्वसम्मत पारित गरेको छ ।
आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले आगामी चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो । संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली काँग्रेस एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नेछौं’, निर्णयमा भनिएको छ ।
महामन्त्री थापा आफ्नो प्रस्तावमा अडिग रहने र सभापति देउवाले अस्वीकार गर्दा नेताहरु दुई खेमामा विभाजित भएका थिए । त्यसबेला महामन्त्री थापाको प्रस्ताव थियो, ‘पार्टी संगठन र समर्थक–शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं ।’
तर, यसपटक निकै चर्चामा रहे पनि महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीको प्रस्ताव पारित हुन सकेन । महामन्त्री शर्माको एक्जिट पोलिसीलाई संविधान संशोधनका बेला बहस गर्ने गरी थाती राखिएको छ ।
‘राज्यको विभिन्न तह जिम्मेवारीमा रहने पदाधिकारीको पदावधिको सम्बन्धमा संविधान संशोधनको बेलामा आवश्यक निर्णय गर्ने’, बैठकको निर्णयमा भनिएको छ । छलफलका क्रममा भने यो प्रस्तावप्रति नेताहरु विभाजित देखिएको थिए ।
संस्थापन पक्षका अधिकांश नेताहरुले विरोध गरेका थिए । सभापति देउवालाई प्रधानमन्त्री बन्न नदिने आशयले प्रस्ताव ल्याएको आरोप लगाएका थिए ।
महामन्त्री शर्माले एउटा व्यक्ति राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ । प्रदेशमा मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ ।
त्यसैगरी, विशेष चासोका साथ हेरिएको महाधिवेशन कार्यतालिकाबारे पनि निर्णय हुन सकेन । लामो छलफलपछि बैठकले महाधिवेशन कार्यतालिका अर्को केन्द्रीय समिति बैठकबाट गरिने निर्णय गरेको छ ।
प्रस्ताव भने विधान परिमार्जन समितिले ल्याउनेछ । उक्त समितिको संयोजक र सदस्य तोक्ने अधिकार पार्टी सभापति देउवालाई दिइएको छ ।