आज कुसेऔंसी पर्व, आजै बुबाको मुख हेर्ने दिन पनि .

काठमाण्डौँ, आज भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व घरघरमा पवित्र कुश भित्र्र्याएर मनाइँदैछ ।
हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।
आज बुबाको मुख हेर्ने दिन पनि हो
आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
आजका दिन बाबु नहुनेहरू भने काठमाण्डौँको उत्तरपूर्वमा रहेको वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित् गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
आज जीवित बाबुलाई मीठो मसिनो खान दिएर वा दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्ण, बेत्रावती, चतराधाम आदि स्थानमा मा आज मेलासमेत लाग्छ ।
प्रतिक्रिया दिनुहोस्