२०८१ माघ ६

आज साफ यू–२० च्याम्पियनसिपको फाइनल, नेपाल र बंगलादेश भिड्दै ।

काठमाण्डौँ, साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाईनल पुगेका दुवै टिम राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए । बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाईनलसम्म यात्रामा धेरै उताचढाव भएको भन्दै फाइनलका लागि तयार रहेको बताए । ‘यो यात्रामा धेरै उतारचढाव भयो, ‘ हकले भने, ‘नेपाल घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी हो । किनकी धेरै खेलाडीले यहीँ खेलेका छन् ।
नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुंदैछन् । यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । समूह विजेता बन्ने क्रममा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले भने श्रीलंकालाई २–० ले पराजित गरेको थियो ।
नेपाल र बंगलादेश साफ यू२०÷१९÷१८ च्याम्पियनसिपमा फाइनलमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो ।
नेपाल ९ वर्षपछि पहिलो पटक फाइनल खेल्दैछ । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता बनेको थियो ।