२०८१ आश्विन २०

नेपाली काँग्रेसका सभापति, उपसभापति र महामन्त्रीको बैठक बस्दै ।

काठमण्डौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको बैठक आह्वान छन् ।
मंगलबार (भोलि) बिहान देउवाको निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । दुई÷दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको काँग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको काँग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । केन्द्रीय समितिबाट अनुमोदन नगरिँदासम्म महासमितिका निर्णय कार्यान्वयन हुँदैन ।
२०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति काँग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिको रहेको र चुनावी गठबन्धन गर्ने÷नगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमा÷दस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेताहरूले ओगटेर बस्ने प्रवृत्ति अन्त्यका निम्ति ‘एक्जिट पोलेसी’ अघि सारेका छन् । नेताले सार्वजनिक लाभको पदमा लगातार रहन नमिल्ने गरी उनले १, २, ३ र ४ लागु हुनुपर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ । ती प्रस्तावमा सहमतिका निम्ति सभापति देउवाले उपसभापति र महामन्त्रीको बैठक डाकेका हुन् ।