२०८१ चैत्र ५

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाण्डौँ, संसारभारका हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन संसारभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
यस अवसरमा आज विशेषत पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी कागेश्वरीको नवतनधाम, बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सघको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिर लगायत संसारभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको भीड लाग्छ ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको श्रीकृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा झुलनोत्सव कार्यक्रम आयोजना गरिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।