आजदेखि विधिवत् रुपमा गौरा पर्व सुरु, घर–घरमा बिरुडा राखेर मनाइँदै ।
डडेलधुरा, सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।
आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।
एक महिना अघिदेखि शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ ।
यो पर्व पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लाउने पर्व पनि हो । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको स्थानीय पाकाहरु बताउँछन् ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतीमा बनाई ‘गौराघर’मा भित्र्याउने परम्परा रहेको छ । गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।”
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस्