सुदूरपश्चिम प्रदेशमा आज ‘ओल्के’ पर्व मनाइँदै ।

सिलगढी, डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेश भर धुमधामसँग मनाइने गरिन्छ ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।
आज मीठो परिबार खाने, बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ । त्यसैगरी, ककर्कलो, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तलाई बाँड्ने प्रचलन पनि रहेको छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।
आज आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको छ ।
साउन महिना सकिएर भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गर्दछ । पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछिउनका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
ओल्के पर्वको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ ।
प्रतिक्रिया दिनुहोस्