बालिकलाई चिनियाँ नागरिकसँग विवाह गरिदिने दुई महिला पक्राऊ ।
पोखरा, आर्थिक प्रलोभन देखाएर बालिकलाई चिनियाँ नागरिकसँग विवाह गरिदिएको आरोपमा कास्की प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।
लमजुङ घर भई पोखरा–१६ बस्ने २२ वर्षीय सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षीय भगवती अधिकारीले बालिका मिलाइदिए बापत चिनियाँ नागरिकसँग रकम लिएको खुलेको प्रहरीले जनाएको छ ।
दुई महिलासँगै चीनको हुनान प्रान्तका ३१ वर्षीय झी मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखरा–६ स्थित एक गेस्ट हाउसमा बस्दै आएका थिए । पक्राउ परेका दुई महिलाले एक १४ वर्षीय बालिकालाई फकाएर ती चिनियाँ नागरिकसँग विवाह गरिदिएका थिए ।
प्रहरीका अनुसार प्रलोभनमा परेकी बालिकालाई उनीहरूले साउन १३ गते चिनियाँ नागरिकसँग विवाह गराइदिएका थिए । विवाहपछि ती चिनियाँ नागरिकले बालिकालाई अर्को होटलमा नै बन्धक बनाएर राखेका थिए । बालिका त्यहाँबाट भागेपछि मात्र घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पीडित बालिकाका अभिभावकसँगको समन्वयमा उद्धार गरिएको बताए ।
बालिकाको उद्धारपछि उनका अभिभावकले मानव बेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी दिएका थिए । उनीहरूको जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याथ थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्