२०८१ माघ २६

काठमाण्डौँ–तराई/मधेस द्रुतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ ब्रेक थ्रु ।

काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् ।
नेपाली सेनाद्वारा निर्माणाधीन द्रुतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको उद्घोष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ भएको हो ।


प्रधानमन्त्री ओलीले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि द्रुतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताए ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गरे । डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पु¥याउने काम अघि बढिरहेको बताए ।
द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिए । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत सहभागी थिए ।