लेबननमा रहेका १९७५ नेपालीलाई नेपाल सरकारले के गर्छ ?
काठमाण्डौँ, लेबनानमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उपलब्ध कुनै पनि टिकट बुक गरेर लेबनानबाट बाहिरिनू भनेको छ ।
यता, बेलायतले पनि आफ्ना नागरिकलाई तुरुन्त लेबनान छाड्नू भनेको छ । फ्रान्सको विदेश मन्त्रालयले पनि आफ् नागरिकलाई जतिसक्दो छिटो लेबनान छाड्न भनिसकेको छ ।
नेता हनियाको हत्याको बदलामा इजरायललाई कठोर सजाय दिने इरानको घोषणासँगै इजरायल र हमासबीचको युद्ध अब मध्यपूर्वभरी फैलिने आँकलन गरिएको छ । इजरायलसँग बदला लिन इरानले लेबनानको राजनीतिक तथा हतियाधारी लडाकु समूह हिजबुल्लालाई प्रयोग गर्ने अनुमान धेरैको छ । हिजबुल्लाहलाई इरानको साथ र समर्थन रहँदै आएको छ ।
शनिबार राति मात्र हिजबुल्लाहले ३० वटा सानो दूरीको मिसाइल इजरायलमा प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई इजरायलले आफ्नो भूमिमा खस्न नपाउँदै निस्क्रिय बनाएको थियो ।
इजरायल र हिजबुल्लाहबीच जुनसुकै समयमा ठूलो युद्ध सुरु हुने सम्भावना छ । यसैकारण शक्ति राष्ट्रले आफ्ना नागरिकलाई लेबनान् छाड्नू भनेका हुन् ।
इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालका अनुसार, लेबनानमा ११ सय नेपाली रहेका छन् । लेबनानको होटल तथा रेष्टुरेन्ट, उद्योगमा नेपालीहरू कार्यरत छन् ।
युद्ध भइहाले पनि लेबनानमा कार्यरत नेपालीहरू प्रभावित हुने क्षेत्रमा नरहेको उनले बताए । हिजबुल्लाहको प्रभाव लेबनानको दक्षिण भू–भागमा छ, जुन इजरायलसँग सीमा जोडिएको क्षेत्र हो । इजरायल र लेबनान सीमा क्षेत्रमा नेपाली कार्यरत नरहेको उनले बताए ।
इजिप्टस्थित् नेपाली दूतावासले सतर्कता अपनाउन लेबनानमा रहेका नेपालीलाई आग्रह गरिसकेको छ । यही साउन १५ गते इजिप्टस्थित् नेपाली दूतावास र लेबनानको बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले सूचना जारी गर्दै नेपालीलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।
लेबनानको बिभिन्न क्षेत्रमा काम गर्ने ११ सय नेपालीबाहेक संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा खटिएका ८७५ जना नेपाली शान्ति सैनिक (नेपाली सेना) लेबनानमा छन् । उनीहरू इजरायल र लेबनानको सीमामा राष्ट्रसंघीय मिसनअन्तर्गत खटिएका छन् ।
नेपाली सेनाले लेबननमा कार्यरत शान्ति सेनामा कार्यरत नेपाली सेनाको बारेमा अहिलेसम्म आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्