२०८१ कार्तिक २०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाह, औपचारिक निर्णय गर्न संसदीय दलको बैठक बस्दै ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्य मुख्यमन्त्रीका आकांक्षी पछि हटेका हुन् ।
सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली काँग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्री सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए ।
संसदीय दल नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएपछि बाँकी आकांक्षीहरू सहमत भएका हुन ।
निर्वतमान मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेका थिए । उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।
सोही अनुसार आज नेपाली काँग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्नेतयारीमा लागेका हुन । काँग्रेस, एमाले र नागरिक उन्मुक्तिका सांसदहरूको समर्थनमा शाहले आज साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
औपचारिक निर्णय गर्नका लागि कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले मन्त्रीहरूको नाम पनि टुंगो लगाउने छ । मन्त्रीमा भने नयाँ अनुहार पठाउने तयारी नेपाली काँग्रेसको छ ।