२०८१ फाल्गुन ५

आज काठमाण्डौँ उपत्यका विभिन्न सहरमा घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व मनाइँदै ।

काठमाण्डौँ, प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन नेवार समुदायले मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको विभिन्न सहरमा मनाइँदैछ ।
चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।
यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको बीचमा लगेर जलाउँदा धानमा कीरा नलाग्ने विश्वास रहेको छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।
यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै लगेर जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।
घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।