२०८१ मंसिर २९

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दुर, टीका, टोपी लगाउन पाइने ।

काठमाण्डौं । राष्ट्रिय परिपत्रपत्रका लागि फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्रका लागि मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । ‘फोटो खिच्दा सिन्दुर टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक संस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन’ भनेकोे छ ।
विगतमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका पुछ्न लगाउने, कपालमा कालो दल्न लगाउने, ढाकाटोपी लगाउन नदिएको गरेको भनेर गुनासो आएको थियो ।
राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ मा फोटो खिच्दा टोपी, ह्याट, क्याप, स्कार्फ मास्क र चस्मा जस्ता कुरा लगाउन नहुने उल्लेख छ । महिलाको हकमा नाक र कानमा सामान्य खालका गहनाबाहेक मुखाकृतिलाई असर गर्ने कुनै पनि प्रकारको गहना लगाउन हुँदैन भनिएको छ ।
यसबारे निरन्तर प्रश्न उठेपछि सूचना निकालेर सिन्दुर टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक संस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन मिल्छ भन्नु परेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीले बताए ।