१८ देशमा राजदूत सिफारिस, भारतमा शंकर शर्मालाई नै निरन्तरता ।
काठमाण्डौँ, सरकारले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाएको छ । ‘माओवादी र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाएको हो ।
चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । त्यसैगरी, श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस पनि गरेको छ ।
भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ ।
पुष्पकमल दाहाल सरकारले २४ जेठमा शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो । १७ असारमा नयाँ गठबन्धन बनेपछि काँग्रेसले भारतका लागि राजदूतमा शर्मालाई निरन्तरता दिन चाहेको थियो । तर प्रधानमन्त्री ओलीले एमाले सम्मिलित सरकारले फिर्ता बोलाउने निर्णय गरेको भन्दै अर्को नाम मागेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व मुख्य सचिव एवं सुरक्षा परिषद्मा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नाम अघि सारेका थिए । तर अन्तिम समयमा शर्माकै नाम टुंगिएको छ । अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन् । नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत काँग्रेसले लिएपछि रेग्मी अमेरिका पुगेका हुन् ।
यस्तै पूर्व सचिव चन्द्र घिमिरेलाई बेलायत, चीनका लागि कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएकाछन् ।
प्रतिक्रिया दिनुहोस्