नेपाल–चीन सीमानाका टिङ्कर खुल्यो, स्थानीयमा खुशीयाली

दार्चुला, दार्चुलाको उत्तरमा रहेको नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् ।
करिब पाँच वर्षपछि खोलिएको नाका केही दिनपहिले मात्रै चिनियाँ पक्षले नाका खुलेको जानकारी पठाएपछि नेपाली व्यापारी ताक्लाकोट जान थालेका हुन् ।
छाङरु र टि¬ंकरका केही स्थानीय ताक्लाकोट पुगीसेका छन् भने औपचारिक पत्र नपाए पनि व्यास क्षेत्रका स्थानीयमार्फत नाका खुला गरिएको जानकारी पाएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
टिङ्करको छियालेकस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) ले टिङ्कर नाका भएर ताक्लाकोट आवतजावत गर्ने नागरिकको अभिलेख राख्ने गरेको छ । छियालेकमा इलाका प्रहरी कार्यालय पनि सञ्चालित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन असार ३१ देखि भने नाका खुला गरिएको छ । तिब्बतमा पर्ने पवित्र कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्न टिङ्कर नाका वैधानिक रूपमा सञ्चालनको माग स्थानीयले गर्दै आएका छन् । टिङ्कर नाका परम्परागत रूपमा खुले पनि व्यास क्षेत्र र टिङ्कर नाका जोड्ने सडक निर्माणले भने गति लिएको छैन ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा टिङ्कर सडकलाई आठ करोड ५० लाख रुपियाँ बजेट छुट्याएको छ । सामरिक महत्वको टिङ्कर सडकमा बजेट न्यून भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको टिङ्कर सडकमा बजेट थप गरेर प्राथमिकताका साथ निर्माण गरिदिन व्यास गाउँपालिकाले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्