२०८१ चैत्र १३

काँकडभिट्टा भन्सारबाट १५ अर्बको चिया, अलैँची र अदुवा निर्यात ।

झापा, झापाको काँकडभिट्ट नाकाबाट आर्थिक वर्ष २०८०÷८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैँची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।
सोही अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको काँकडभिट्ट भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा यो नाका भएर छ अर्ब ५२ करोड १७ लाख मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।
पहाड र तराईमा उत्पादन हुने अदुवा ठुलो परिमाणमा निर्यात हुने कृषि वस्तुमध्ये एक हो । आव २०८०÷८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।