काठमाण्डौँ उपत्यकामा आजदेखि पोलियोविरुद्धको अभियान शुरु ।
काठमाण्डौँ, सरकारले आजदेखि काठमाण्डौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ ।
काठमाण्डौँको ढल मिसिएको पानीमा भ्याक्सिन डिराइभ्ड भाइरस देखिएपछि सरकारले काठमाण्डौँं उपत्यकामा आजदेखि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खोप शाखाले आज (साउन ९) देखि १२ गतेसम्म उपत्यकामा खोप दिन लागेको हो ।
जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिइने मन्त्रालयले जनाएको छ ।
सरकारले अहिले नियमित खोपमार्फत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ । नियमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
काठमाण्डौँमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएपछि खोप दिन लागेको हो । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा उक्त भाइरस देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्