बङ्गलादेश टेलिभिजन (बिटिभी)को मुख्यालयमा आगजनी ।
काठमाण्डौँ, प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बङ्गलादेश टेलिभिजन (बिटिभी)को मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको बंगलादेश प्रहरीले बताएको छ ।
सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरूले सबैभन्दा पहिला एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलाएको थियो । गोली चलाएपछि टेलिभिजनको कार्यालयमा शरण लिएका प्रर्दशनकारीहरुलाई पछ्याउँदै प्रहरी आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेको सञ्चारमाध्यहरुले जनाएको छ ।
बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारवाहीलाई तीव्र बनाएको छ । प्रर्दशन शुरु भए यताका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्