गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्वको शिष्टाचार भेट ।
काठमाण्डौँ, नवनियुक्त गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको जनाइएको छ ।
भेटमा कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।
यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ अगाडि बढ्नेबारेमा पनि छलफल भएको थियो ।
भेटका अवसरमा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री लेखकलाई बधाई ज्ञापन गर्दै नेपालमा देखिएका प्राकृतिक प्रकोपलगायत समस्या समाधान गर्न भारत सरकार आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए । चितवनको सिमलताल पहिरोमा परी बससहित बेपत्ता भएका यात्रुको खोजीकार्यमा सहयोगका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको राजदूत श्रीवास्तवले जानकारी गराएको गृहमन्त्री लेखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्