२०८१ कार्तिक २०

काठमाण्डौँमा तरकारीको मुल्य आकासियो,मजदुरी गर्नेहरुलाई छाक टार्नै सकस ।

आनन्द गुरुङ,काठमाण्डौँ–लगातारको बर्षका कारण देशभरका सडक अवरुद्ध हुँदा काठमाण्डौँमा तरकारीको मुल्य आकासिएको छ ।
कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितीका अनुसार गत आइतबार सामान्य मुल्य रहेको गोलभेडा, घ्यू सिमी बोडी, प्याज, आलु लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत अधिकांश तरकारीको मुल्य एक सातामै ह्वात्तै बढेको छ ।
गत साता गोलभेडाको थोक मुल्य १० रुपैया थियो भने आइतवार एकसय रुपैया पुगेको छ । प्याजको मूल्य गतसाता ७० रुपैयाँ थियो भने सोमबार ११० रुपैयाँ पुगेको छ ।
यस्तै घ्युसिमी, बोडी ७० रुपैयाबाट ९० देखि १ सय १० रुपैया पुगेको छ । काउली आलु लौका, करेला, परवर, ब्रोकाउली, बन्दा लगायत अन्य तरकारीको मुल्य पनि २० देखि ५२ प्रतिशतले बृद्धि भएको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितीका प्रवक्ता बिनय श्रेष्ठले जानकारी दिए ।
अन्य समयमा दैनिक ६ सय देखि ७ सय टन तरकारी आउने गरेको कालिमाटीमा अहिले दैनिक करीव ४ सय टनमात्र तरकारी काठमाण्डौँ भित्रिएको छ । कालिमाटीमा प्याज बाहेक यो मौसमको तरकारी छिमेकी जिल्लाहरु काभ्रे, मकवानपुर, चितवन, सर्लाही तथा धादिङबाट आउने गरेको छ । प्याज भने ९० प्रतिशत भारतबाट आयात हुँदै आएको उनले बताए ।