चारवटा तेल कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना ।
काठमाण्डौँ, काठमाण्डौँ महानगरपालिकाले मापदण्डविपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना गराएको छ ।
महानगरले १३ वटा ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा चार ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा धेरै भएको पाएपछि जरिवाना गरिएको ।
मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालू र एसिड भ्यालू भई सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच÷लट नम्बर २ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच÷लट नम्बर ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच÷लट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो ।
यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।
विसं २०८० माघमा उत्पादन भएको, ब्याच÷लट नम्बर १० को फेमिली ब्रान्डको आयातित तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालू मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।
उक्त ब्रान्डहरूको नमुना परीक्षणका लागि महानगरले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि तीन ब्रान्डलाई कारबाही गरिएको हो ।
उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई महानगरले पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्