२०८१ कार्तिक २०

नुनको मूल्य बढ्यो, नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २६ रुपैयाँ पर्ने ।

काठमाण्डौँ, साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको छ । बढेको मूल्य आजै मध्यरातिदेखि लागू भएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।
यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ ।
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।
साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको जनाएको छ ।