दक्षिण अफ्रिकालाई हराउँदै भारत ट्वान्टी–२० विश्वकपको विजेता ।
काठमाण्डौँ, दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।
ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । शनिबार ब्रिजटाउनमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकालाई जितका निम्ति अन्तिम दुई ओभरमा २० रन आवश्यक थियो । भारतबाट अन्तिम ओभर बलिङका निम्ति हार्दिक पाण्ड्याले जिम्मेवारी पाएका थिए ।
दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ५२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे । ओपनर क्विन्टन डी ककले ३९ रन जोडे । ट्रिस्टान स्टब्सले ३१ र डेविड मिलरले २१ बनाए ।
क्लासेन र मिलरले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ४५ रनको साझेदारी गर्दा दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो । तर, १७ औँ ओभरको पहिलो बलमा हार्दिकले क्लासेनलाई विकेटकिपर ऋषव पन्तबाट क्याच गराएपछि खेलमा भारत हाबी बन्यो ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।
भारतबाट ओपनर विराट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४–३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।
कोहलीले १०६–४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।
दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई÷दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्