२०८२ जेष्ठ ९

संसदमा प्रतिपक्षको भुमिका थप मजबुत बनाइने : सभापति देउवा

नवलपरासी, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले संसदमा प्रतिपक्षको भुमिका थप मजबुत बनाउने बताएका छन् ।
संसद्मा नेपाली काँग्रेसको भुमिका प्रभावकारी हुन नसकेकाले कतिपयले आफ्नो समेत आलोचना गरिरहेको भन्दै सभापति देउवाले अब प्रभावकारी ढंगले प्रस्तुत हुने बताए ।
पश्चिम नवलपरासीको महेशपुरमा स्व सांसद पृथ्वीराज कण्डेलको अर्धकदको शालिक अनावरण र बसपार्कको उद्घाटन गर्दै देउवाले यस्तो बताएको हो । सभापति देउवाले नवलपरासीको एक मात्र मुख्य भन्सार भएर पनि महेशपुर भन्सार पुर्णरुपमा संचालनमा आउन नसकेको र यसको भौतिक एवंम प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो ।
पूर्व गृह राज्यमन्त्री एवंम् काँग्रेस केन्द्रिय सदस्य देवेन्दराज कण्डेलका पिता पृथ्वीराज कण्डेलको स्मृतिमा बसपार्कको नामाकरण र अर्धकदको शालिक निर्माण गरिएको हो । स्व कण्डेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद थिए । कार्यक्रममा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले निजामती ऐन तत्काल पास गर्नुपर्ने बताए । त्रिपाठीले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनैपनि क्रियाकलाप मधेसको सहमती बिना हुन नसक्ने पनि स्पष्ट पारे ।
अध्यक्ष त्रिपाठीले नेपाल र भारतको सिमानाकामा केही सांसदले काँडेतार लगाउनुपर्ने माग राखेको भन्दै मधेशी जनभावना र सुविधामा आँच आउने कुनै पनि कुरा नगर्न चेतावनी पनि दिए ।
संघिय सरकारको एक करोड, पाल्हीनन्दन गाँउपालिकाको १३ लाख गरी कुल १ करोड १३ लाखको लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कण्डेलले बताए ।