विदेशी मुद्रा सञ्चिति बढ्यो, दस महिनामै थपियो चार खर्ब ।
काठमाडौँ, विदेशी मुद्राको सञ्चिति वैशाख महिनामा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । विदेशी मुद्रा सञ्चिती बढसंगै नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनका अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ । चालु आवको वैशाखसम्मको तथ्यांक समेटेको उक्त प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ अर्थात् १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर रहेको छ ।
चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६.२ प्रतिशतले सञ्चिति बढेको हो ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपैयाँ रहेको छ भने राष्ट्र बंैकबाहेकका बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित छ । सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको अनुमान छ । त्यस्त,ै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
घट्दो आयात र बढ्दो विप्रेषणका कारण पछिल्लो समय विदेशी मुद्रा थुप्रिँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म मुलुक भित्रिने विप्रेषण १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो आप्रवाह २३.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
बाह्य अर्थतन्त्रमा देखिएको सुधारले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम अर्थात् शोधनान्तर स्थिति पनि मजबुत अवस्थामा देखिन्छ । २०८१ वैशाखसम्म तीन खर्ब ९२ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा छ । त्यस्तै आयात निर्यातसहित कारोबार समेटिने चालु खाता पनि बचतमा रहेको प्रतिवेदनले देखाउँछ । तथ्याङ्क अनुसार वैशाखसम्म एक खर्ब ९३ अर्ब रुपैयाँ मुलुकको चालु खाता बचत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्