गण्डकीका मुख्यमन्त्री पाण्डेलाई बहुमत जुटने संकेत, फणिन्द्र नै बहुमतको चाबी ।
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आज ३ बजे प्रदेश सभा बैठक बस्दैछ ।
मुख्यमन्त्री पाण्डेले दलहरूसँग समन्वय गरेरै बजेटअघि संसद् ‘फेस’ गर्न लागेका हुन् । तर संसद् बैठक डाकिएपछि राजनीति केही फरक भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने भएका छन् । गण्डकी प्रदेश सभामा राप्रपाका २ सांसद छन् । राप्रपाले समर्थन गरे पनि उनीसँग २९ सांसदको समर्थनमात्रै हुन्छ । त्यसो त स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री पाण्डेलाई समर्थन गर्ने देखिन्छ । किनभने यसअधिको मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा सांसद गुरुङ मन्त्री बनेका थिए । यत्तीलेमात्र बहुमत पुग्दैन । माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा नै बहुमतको चाबी बनेका छन् ।
संघीय राजनीतिमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालसंग डा. बाबुराम भट्टराई रुष्ट भएका छन् । त्यसैले उनले पाण्डेको पक्षमा मतदान गर्ने संकेत देखिएको छ ।
गण्डकी प्रदेशको जारी राजनीतिक घटनाक्रम र आज मुख्यमन्त्रीले लिने विश्वासको मतबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक केहीबेरमा बस्दैछ । एमालेले पनि आजै बैठक आव्हान गरेको छ ।
पाण्डेले विश्वासको मत नपाए गण्डकीमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बन्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने दाउमा छन् । पाण्डेले उपधारा (३) को सरकार ढले पनि (५) मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् ।
राजनीतिक दलका सांसदहरूलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने सत्तापक्षको दाबी छ । विपक्षीहरू पनि उपधारा (५) मै आफूले मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने योजनामा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने दाउमा छन् ।
प्रतिक्रिया दिनुहोस्