२०८१ माघ ६

रसुवाको गोसाइँकुण्ड मेला सुरू, मेला असार २ गतेसम्म चल्ने ।

२६  जेठ, रसुवा, रसुवाको गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।
गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए ।
तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन् ।
धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिक जन्य फोहर सुरक्षित र तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउने कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।