आज मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ।
काठमाण्डौँ, आज ज्येष्ठ कृष्णपक्षको आमावस्या, वटसावित्री पर्व मिथिलाञ्चलमा विधिपूर्वक मनाइदै छ । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।
पौराणिक युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।
जेठ कृष्ण चतुर्दशीका दिन व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलावासी महिलाहरुले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको ब्रर्तालु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्