फिफा विश्वकप छनोट अन्र्तगत आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै ।

काठमाण्डौँ, फिफा विश्वकपको आगामी संस्करणको छनोट अन्तर्गत समूह ‘एच’ मा नेपालले आज (बिहीबार) युएईसँग दोस्रो खेल खेल्दै छ।
युएईको घरेलु मैदानमा भएको पहिलो खेलमा नेपाल ४–० ले पराजित भएको थियो । ‘होम’ म्याच अन्तर्गत खेल साउदी अरेबियाको प्रिन्स मोहमद विन मैदानमा हुन लागेको हो ।
नेपाली समयअनुसार खेल आज राति ८.४५ बजे सुरु हुने छ । फिफा वरीयतामा ६७ औं स्थानमा रहेको युएई विरुद्ध १७८ औं स्थानमा रहेको नेपालको लक्ष्य युएईलाई रोक्नु हुनेछ । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले युएई समूहकै बलियो टोली भएको भन्दै उसलाई रोक्ने नेपाल लक्ष्यका साथ मैदान उत्रिने बताए ।
जारी विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्ना पाँच खेल खेल्दा एक गोल पनि गर्न सकेको छैन। विपक्षी टोलीले नेपाललाई १४ गोल गरेका छन् । नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।
युएई र नेपाल अहिले सम्म दुई पटक प्रतिस्पर्धा गरेका छन् । पछिल्लोपटक १६ नोभेम्बर २०२३ मा भएको विश्वकप छनोट अन्तर्गतकै ‘अवे’ खेलमा नेपालले युएईसँग उसको मैदानमा ४–० को हार भोगेको थियो।
त्यसअघि २९ अक्टोबर १९८४ मा भएको खेलमा नेपाल ११–० ले पराजित भएको थियो। समग्रमा युएईविरुद्ध नेपालले १५ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्