प्रधानमन्त्री दाहाल र भारतीय कार्यवहाक प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता ।
काठमाण्डौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय कार्यवहाक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षी मोदीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन् ।
वार्तामा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तयार रहेको बताएका थिए ।
प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन् । “प्रधानमन्त्री दाहालसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै भारतीय राजदूतावासले जनाएको छ ।
लोकसभा निर्वाचनको परिणाम अनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस्