प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् पुर्नविस्तार र हेरफेरको तयारीमा, यसै साता पुर्नगठन हुने ।
काठमाण्डौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुर्नविस्तार र हेरफेरका लागि आन्तरिक तयारीमा जुटेका छन् ।
नयाँ समीकरण बनेपछि दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले आफ्ना पार्टीमा उभिएका दलहरुलाई सरकारमा समेट्ने गरी गृहकार्य अघि बढाएका हुन् । सत्ता समीकरणका सबैभन्दा ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि निरन्तर छलफलमा जुटेका छन् ।
सत्ता समीकरणप्रति नेकपा एसका अध्यक्ष माधव नेपाल सन्तुष्ट छैनन् । तर, मधेश सरकार गठनमा निर्णायक भएपछि अध्यक्ष नेपाललाई मनाएर अघि बढ्न दाहाल र ओलीले छलफल गरिरहेका छन् ।
सत्ता समीकरणको अंकगणितलाई व्यवस्थापन गर्नको लागि मन्त्रीहरुको हेरफेरको तयारी भएको बताइएको छ । माओवादीबाट सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर नयाँ पठाउन तयारीमा प्रधानमन्त्री दाहाल जुटेका छन् ।
६ सांसद भएको जनमतले संघमा एउटा मन्त्रालय पाउने निश्चित छ । त्यसैगरी नागरिक उन्मुक्तिलाई पनि सरकारमा सहभागी गराउने गरी तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने बारेमा तय भईनसकेको पनि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्