२०८१ श्रावण १२

क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकृत ।

काठमाण्डौँ, नेपाली क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । नेपाल स्थित अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो ।
बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो ।
तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।