ट्राफिक प्रहरीको नयाँ नीति, कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटायो ।

काठमाण्डौँ, ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वयसेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले बताए ।
‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने । ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उनीहरु खटिएका छन् ।
आज (बुधबार) मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् ।
सचेतना कक्षा लिन आएकाहरुलाई सडकमा पठाएका छौं’, उपत्यका ट्राफिक प्रहरी महाशाखाका एसएसपी श्रेष्ठले भने, ‘कार्यालयमा केही समय सचेतनासम्बन्धी कक्षा लिएपछि उनीहरु फ्लोरिसेन्ट ज्याकेट लगाएर खटिएका हुन । हरेक समूहको साथमा एक जना प्रशिक्षित ट्राफिक प्रहरी खटाइएको छ् ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार,हाल दैनिक कम्तीमा ३ हजार जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । तीमध्ये सचेतना कक्षा लिनुपर्नेहरु दैनिक ६ सय जना हुने ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्