२०८१ कार्तिक २०

आज १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रम गरी मनाइदै ।

काठमाण्डौँ, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो ।
विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथाको पहिलो पटक सफल आरोहण गरेका थिए ।
आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । हिलारीको निधनको सन्दर्भ पारेर नेपालमा सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।


तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलो मानव पाइला राखेको दिनको सम्झनामा १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहणको ७१ औँ वर्षगाँठ मनाइँदै छ । सन् १९५३ जुन २ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको अवसरमा त्यो खबर बेलायतबाट सार्वजनिक गरिएको थियो । नेपालमा जेठ २१ गते (जुन ३)
सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन् ।


आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छ । सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै मानव पाइला सगरमाथा चुचुरोमा पुगेनन्। त्यस्तै २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२३’ का अनुसार सन् २०२२ सम्म ३६ वटा विषयमा सगरमाथामा कीर्तिमान कायम गरिएको छ ।


एकै जनाले दर्जनौँ पटक आरोहण गरेको यस चुचुरोमा दुवै खुट्टा गुमाएकादेखि दृष्टिविहीनसम्मले आरोहण गरेर कीर्तिमान बनाएका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीले नयाँ नयाँ कीर्तिमान थप्दै आएका छन् ।

सगरमाथा आरोहण गरेर कीर्तिमान राख्नेमा विश्वकै पहिलो महिला, नेपाली प्रथम महिला, फरक क्षमता भएका, दुवै खुट्टा गुमाएका, सगरमाथामा विवाह गर्ने जोडी, पाको उमेरकी महिला, उत्तर दक्षिण दुवै दिशाबाट आरोहण गर्ने महिला, सबैभन्दा ठुलो आरोहण दल, नेपाली प्रथम पत्रकार, सबैभन्दा पाको उमेर, बिनाअक्सिजन आरोहण, सगरमाथाको शिरबाट स्की, सगरमाथाको शिरमा २१ घण्टा, एचआइभी एड्सपीडित, सबैभन्दा छिटो र सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आरोही रहेका छन् ।