गणतन्त्र दिवस नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो : राष्ट्रपति पौडेल
काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेलले १७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना र बधाई व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले ‘आजको दिन नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिनसमेत भएको बताएका छन् । उनले १७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’ विज्ञप्तीमा भनेका छन् ।
साथै, लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी नागरिक र राजनीतिक दल सबैलाई अभिनन्दनसमेत गरेका छन् ।
राष्ट्रपति पौडेलले कुनै एक दिनलाई गणतन्त्र दिवस भनेर केवल औपचारिक उत्सव मनाइरहेको मात्र नभएर त्यो ऐतिहासिक क्षणलाई सम्झिरहेको र सम्पूर्ण नागरिक जीवनलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकारसम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिने सङ्कल्प गरेको बताएका छन् । साथै आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउनेछ भन्नेमा आफू पूर्ण विश्वास रहेको बताए ।
सघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरि समुन्नत भविष्यका लागि एकताबद्ध भएर राज्य र राष्ट्रनिर्माणको अभिभारा दिएको राष्ट्रपति पौडेलले बताएका छन् ।
गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तर माथि उठाउने हो साथै उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्धन एवम् सुशासन हो। त्यसैले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा नहुने उनको भनाई छ ।
नागरिकका आमसमस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गरि नेपालको प्रतिष्ठालाई विश्वमा उँचो बनाई विकासको नयाँ उचाइ प्राप्त गर्न सकौँ भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्तगरेका छन् ।
प्रतिक्रिया दिनुहोस्