२०८१ मंसिर २९

काठमाण्डौँ–तराई –मधेश द्रुतमार्गको धेद्रे जोडी सुरुङ ‘ब्रेक थ्रु’ ।

काठमाण्डौँ, काठमाण्डौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको हो । सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ ।

निजगढबाट काठमाण्डौँ आउने लेनमा रहने सुरुङको शुक्रबार ब्रेक थ्रु भएको हो ।
यसअघि ४ जेठका दिन काठमाण्डौँबाट निजगढतर्फ जाने सुरुङ छिचोलिएको थियो ।
द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा यो सुरुङ रहेको छ ।


शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मालगायतको उपस्थितिमा सुरुङ मार्ग छिचोलिएको हो ।
७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर रहेको छ । यो आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन् ।