सभामुखलाई महाअभियोग लगाउने नेपाली काँग्रेसको चेतावनी ।
काठमाण्डौँ, प्रमुख विपक्षी नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेविरुद्ध महाअभियोग लगाउने चेतावनी दिएको छ ।
पार्टीभित्र र विपक्षी दलहरुको बैठकमा सभामुखलाई महाअभियोग लगाउनेबारे छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । शर्माले ‘सभामुखले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । हाम्रोबीचमा महाअभियोगको बारेमा पनि कुरा उठेको हो । सभामुखको जे भूमिका छ, महाअभियोगको प्रस्ताव दर्ता गरौं न । हटाउन नसकिएला तर रोक्न त सकिन्छ नि केही समय । लाञ्छित त हुनुपर्ला नि ! त्यो सम्मको पनि कुरा भएको छ हामीबीच । हामी त्यसमा पुगिहालेका छैनौं । तर, यो खालको अवस्था प्रतिपक्षी दलहरूबीच उठ्नु भनेको कतिसम्मको अवस्था हो त ।’
सभामुखको भूमिका सत्तापक्षको सहयोगी भएको भन्दै विपक्षी गठबन्धनमा यसबारे छलफल भएको शर्माले बताएका छन् । विश्वासको मत लिने बेला सभामुखले नारबाजीबीच सदनको कारबाही अघि बढाएपछि काँग्रेस आक्रोशित छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सांसदबीच ‘भनाभन’ नै भयो । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित महामन्त्री विश्वप्रकाश शर्माले कैयौँपटक बोल्न पाउनुपर्ने माग गरे । तर सभामुखले पेलेरै अघि बढाउने प्रयास गरे ।
प्रतिक्रिया दिनुहोस्