गोरखाकी फुन्जो लामासहित ५७० जनाले गरे सगरमाथाको आरोहण, फुन्जोद्वारा नयाँ कीर्तिमान कायम ।
काठमाण्डौँ, नेपाली महिला आरोही फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम साढे १४ घण्टाको समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् ।
वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुन्जोले बिहिबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् ।
सगरमाथा आधार शिविरस्थित् पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरु गरेर फुन्जोले बिहिबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेकी हुन् ।
दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन् ।
यसबर्षको वसन्त ऋतुको जारी आरोहणमा बिहीबारसम्म ५७० जनाले सगरमाथाको आरोहण गरेका छन् । पर्ययटन विभागका अनुसार बिहिबारसम्म विभिन्न आरोहण दलबाट आरोही सदस्य र क्लाइम्बिङ गाइड गरी ५७० जनाभन्दा धेरैले सगरमाथाको आरोहण गरेका हुन् ।
बिहिबारमात्र आरोही र क्लाइम्बिङ गाइडसहित करिब ६५ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।
आजसम्म आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये एक जनाको पालभित्रै निधन भएको हो । त्यसैगरी अहिलेसम्म तीनजना हराएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्