२०८१ चैत्र ५

नेपाली सेनाले सगरमाथा र ल्होत्से हिमालबाट दुई जनाको शव काठमाडौं ल्यायो ।

काठमाण्डौँ, नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक÷एक गरी दुई जनाको शव काठमाण्डौँ ल्याएको छ ।
लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियान अन्तर्गत काठमाण्डौँ ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।


‘पहिचान नखुल्ने भएकाले पोष्टमार्टम गरेर डीएनए संकलन लगायतका प्रक्रिया अघि बढाइने प्रवक्ता केसीले बताए । ‘यो वर्ष कम्तिमा ५ वटा शव हिमालबाट ल्याउने लक्ष्य सेनाको रहेको छ ।’
अभियानका क्रममा हालसम्म ८ हजार ६ सय २० केजी फोहोर संकलन गरेर तीमध्ये २५० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको केसीले बताए ।


यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहोर संकलन गर्ने योजना सेनाको छ । नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा २ वैशाखबाट १२ सैनिक र एक शेर्पासहित १३ जनाको टोलीले हिमालबाट फोहोर संकलन गर्ने अभियान चलाइरहेको छ ।