२०८१ श्रावण १२

आज कतारका अमिर नेपाल आउँदै, देशभर सार्वजनिक विदा ।

काठमाण्डौँ, कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज र भोली दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न राष्ट्रपति पौडेल जानेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने जनाएको छ ।
मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज (वैशाख ११ गते) सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने निर्णय गरेको छ । कतारी अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्ने जनाएको छ ।
त्यस्तै कतारका अमिर शेख थानीले भोली (वैशाख १२ गते) प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् ।
भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै, दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तयभएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्नेछन् ।