२०८१ श्रावण १२

प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न ।

काठमाण्डौँ, प्रथम संस्करणको प्रधान सेनापति ह्विलचियर बास्केटबल प्रतियोगिता–२०८१ को पुरुष तर्फको उपाधि सशस्त्र प्रहरी बलले जितेको छ ।
पुरुष तर्फ ६ र महिला तर्फ ६ टिम गरी जम्मा १२ वटा टिमहरूको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ सशस्त्र प्रहरी बल, नेपाल पहिलो, त्रिभुवन आर्मी क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल तेस्रो भएका छन् ।

महिला तर्फ ह्विलचियर स्पोर्टस एसोसिएसन प्रथम, स्पाइनल कर्ड इन्जुरी नेटवर्क, नेपाल दोस्रो र जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भएका थिए । प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमहरूलाई नगद पुरस्कार सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सम्पूर्ण टिमलाई मायाको चिनो प्रदान गर्नुका साथै रेफ्रीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । समापन समारोहमा फरक क्षमता भएका व्यक्तिहरूले नृत्य तथा साङ्गीतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।


फरक क्षमता भएका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्नुका साथै उहाँहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको लिग चरणका विभिन्न खेलहरूको प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले समेत अवलोकन गरेका थिए ।