२०८१ श्रावण १२

पाथीभरा मन्दीरमा एकैदिन ६ हजार बढी भक्तजन ।

काठमाण्डौँ, ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दीर(मुकुमलुङ)मा शनिबार एकैदिन ६ हजार ४ सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।
चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ ।
भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा पुगेको समितिले जनाएको छ ।