२०८१ बैशाख १८

परराष्ट्र मन्त्रालयद्धारा इजरायलस्थित् नेपाली दूतावासलाई तत्काल रिपोर्ट पठाउन निर्देशन ।

काठमाण्डौँ, परराष्ट्र मन्त्रालयले इजरायलस्थित् नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन दिएको छ ।
आइतबार बिहान इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्रले पछिल्लो अवस्थाका बारेमा रिपोर्ट पठाउन दूतावासलाई निर्देशन दिएको हो । घटनालाई हामीले नजिकबाट नियालिरहेका छौँ । इजरायलस्थित् नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी छिटो रिपोर्ट पठाउन भनिसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए ।
इरान र इजरायलबीचको तनाव बढ्दै गए त्यहाँको अवस्था असहज हुने देखिएपछि परराष्ट्रले रिपोर्ट मागेको हो । इजरायलमा हाल चार हजार ५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गरी ल्याउनुपर्ने हुनसक्ने मन्त्रालयले जनाएको छ ।
केही दिनअघि सिरियामा रहेको आफ्नो महावाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले त्यसको बदला लिने घोषणा गरेको थियो । बदलास्वरूप इरानले आइतबार बिहान इजरायली भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको हो ।
इजरायली सेनाले इरानले प्रहार गरेका ३०० भन्दा बढी क्रुज मिसाइल र ड्रोनलाई आकाशमै ध्वस्ता पारेको जनाएको छ । इरानले प्रहार गरेका मिसाइल आकाशमै ध्वस्त पार्न अमेरिका र बेलायतले पनि इजरायललाई साथ दिएका थिए ।