२०८१ श्रावण १२

राप्रपाले काठमाण्डौँ केन्द्रित प्रदर्शन गर्दै, काठमाण्डौँको सुरक्षा व्यवस्था कडा ।

काठमाण्डौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ ।
राप्रपाले सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।
प्रदर्शनमा सहभागीहरुले निषेधाज्ञा तोड्न सक्ने भएकाले काठमाण्डौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रिय जनमोर्चाले राप्रपाको काठमाडौंमा केन्द्रित प्रदर्शनलाई गम्भीर रुपमा लिएको जनाएको छ ।
प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने राप्रपाको घोषणाले देशको शान्ति सुव्यवस्थालाई भङ्ग गरेर अशान्तिको अवस्था उत्पन्न गर्नका लागि खुल्ला चुनौती भएको जनमोर्चाको ठहर छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् । ‘२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुमाथि प्रहार गरेर ती उपलब्धिहरुलाई उल्टाउन चैत २७ गतेको कार्यक्रम आयोजना गरिएको कुरामा कुनै शंका छैन,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।