२०८१ श्रावण १२

आजदेखि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शुरु, अपराहन्न ३ बजेदेखि भैरवको रथ तान्न शुरु ।

काठमाण्डौँ, भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु हुँदै छ ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।
सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गर्ने योजना रहेको छ । दिउँसो ३ बजेदेखि रथ तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने तयारी छ । लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ ।
तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।
चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्केट जात्रा सुरु हुने परम्परा छ ।
जात्रा सुरु हुनुपूर्व शान्ति र सद्भावको कामना गर्दै भक्तपुर नगरपालिकाले बिहान दत्तात्रय मन्दिरदेखि न्यातपोलसम्म ¥याली आयोजना गरेको छ ।