२०८१ श्रावण १२

आज उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने ।

काठमाण्डौँ, आज प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।
इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने छ । इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ । उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।
चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।
मतदान स्थल
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचन हुने क्षेत्रमा मतदान स्थल स्वीकृत गरेको छ । इलाम–२ मा ७९ मतदान स्थल तथा १४९ मतदान केन्द्र हुने छन् । बझाङ १ (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र हुने निर्वाचन आयोगले जनाएको छ ।