२०८१ श्रावण १२

अध्यक्ष ओलीद्धारा अधिवेशन अगावै पदाधिकारीको नाम घोषणा, तीन दिनदेखि बन्दसत्र स्थगित ।

काठमाण्डौँ, एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन अगावै पदाधिकारीको नाम घोषणा गरेपछि नेकपा (एमाले) झापाको अधिवेशन तीन दिनदेखि जारी छ ।
उद्घाटन सत्र सकेर बन्द सत्र सुरू भए पनि नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन अगावै आप्mनै निर्वाचन क्षेत्र दमकमा भएको कार्यकर्ता भेटघाटमा पदाधिकारीको नाम घोषणा गरेपछि विवाद उत्पन्न भएको हो । झापामा पार्टीको नेतृत्व चयनमा अध्यक्ष ओलीले हस्तक्षेप गरेको आरोप एक थरी कार्यकर्ता लगाएका छन् । आफूले रोजेका व्यक्तिलाई विभिन्न पदमा राख्नकै लागि बन्द सत्र रोकिएको आरोप समेत लगाएका छन् ।
जिल्लामा कुनै पनि पदमा चुनाव नगर्न निर्देशन दिएर पदाधिकारीको नामसमेत घोषणा गरी अध्यक्ष ओली काठमाडौं फर्किएका थिए । ओलीको आदेशलाई जिल्लामा केही नेता कार्यकर्ताले भने चुनौती दिएका छन् । अध्यक्षको हुकुम विरूद्ध उम्मेदवारी दिए पनि सहमति खोज्न भनेर गत शुक्रबारदेखि बन्द सत्र रोकिएको छ ।
बन्द सत्रले तय गरेको कार्यसूची अनुसार अधिवेशन अघि बढेको भए आइतबार नेतृत्व चयनका लागि मतदान भइसकेको हुन्थ्यो । तर कार्यकर्तालाई जिल्ला नेतृत्व चयन गर्न नदिई शीर्ष तह आफैँले नेता छानिरहेका कारण आइतबारसम्म पनि यो विषय टुंगो लागेको छैन ।
चुनावमा जाँदा आफूले चाहेको मान्छे कमिटीमा नपर्ने सम्भावना देखेपछि नेतृत्वले जबरजस्ती लाद्न खोज्ने प्रवृत्ति रहेको जिल्लाका नेताहरूको गुनासो छ । सोही कारण जिल्लाको नेतृत्व छान्न ढिला भएको हो ।
सहमतिका लागि भन्दै नेताहरुले आइतबारको मतदानलाई सोमबारका लागि सारेका छन् । सोमबार मतदान गर्ने भनिए पनि आइतबार साँझसम्ममा अध्यक्षदेखि सदस्यसम्मको नाम तय गर्ने तयारीमा नेताहरू लागेका छन ्।
एमाले झापाका इन्चार्ज विशाल भट्टराईसहितको टिमले अहिले जिल्ला कमिटीमा राख्ने नामबारे छलफल गरिरहेको छ । सहमतिका नाममा नेताहरुले रोजेको व्यक्तिलाई नेतृत्व सुम्पेको घोषणा गर्ने कदमले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास कुन्ठित भएको भन्दै कार्यकर्ता असन्तरष्टी प्रकट गरिरहेका छन् । तर उनीहरू यति त्रसित छन् कि आफ्नो यही मत पनि सार्वजनिक रुपमा व्यक्त गर्ने हिम्मत गर्न सकिरहेका छैनन्।


‘अध्यक्ष ओली र उहाँको टिमका अघि जिल्लाका ठूला नेता केही बोलेका छैनन्। हामी किन बोल्ने? जिल्ला नेतृत्व छान्न भनेर प्रतिनिधि बनेर गएका हामी बन्द सत्र रोकेर घर आएर बसेका छौँ,’ झापा मेचीनगरका एमालेका एक कार्यकर्ताले भने ।
पार्टी जिल्ला अधिवेशनमा नेतृत्वले भनेको नमाने भीम रावलको हालत बनाइदिने प्रष्ट सन्देश दिएका ओलीकै निर्देशन अनुसार अध्यक्षमा प्रेम गिरी र उपाध्यक्षमा शिव ढुंगेलको नाम टुङ्गो लागेको छ । ढुङ्गेलले गिरीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान राखेका थिए। तर ओलीसित छलफल गरेपछि उनी उपाध्यक्षमा बस्न राजी भएका छन् ।
अध्यक्ष ओलीसँगको छलफलपछि अध्यक्षको प्रतिस्पर्धा छाडेर उपाध्यक्ष बस्न ढुङ्गेलले स्वीकार गरे पनि सचिवमा उम्मेदवारी दिएका बोधप्रसाद घिमिरेले भने नाम फिर्ता लिन मानेका छैनन्।
सचिवमा ओली र उनको टिमका नेताहरुले तुलसी कार्कीलाई ल्याउन चाहेका छन् । गत बुधबार झापा आएका ओलीले जिल्लामा उपलब्ध नेताहरु माझ गिरीलाई अध्यक्ष, असारु राजवंशीलाई उपाध्यक्ष, तुलसी कार्कीलाई सचिव बनाएर जान निर्देशन नै दिएका थिए ।