२०८१ श्रावण १२

कोशी प्रदेशमा एमाले र माओवादीबिच विवाद, नयाँ सरकार गठनको सम्भावना पेचिलो ।

काठमाण्डौँ, कोशी प्रदेशमा नयाँ सरकार निमार्णका विषयमा सत्तारुढ दल एमाले र माओवादीबिच नै विवाद उत्पन्न भएको छ । प्रमुख दुई दलबिचको विवादकै कारण कोशीमा तत्कालै नयाँ सरकार गठन हुने सम्भावना पेचिलो बनेको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले वर्तमान सरकार एक महिनाभित्र परिवर्तन हुने दाबी गरेका थिए । तर, केन्द्रीय सत्ता गठबन्धनकै महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने तत्काल सरकार फेरबदल गर्नुपर्छ भन्ने एमालेको कुरा नै अधैर्य र अपरिपक्व रहेको बताएका छन् । उनले भने, ‘हाम्रो प्रदेशको फरक स्थिति छ । हामी अहिले संविधानको धारा १६८ को उपधारा ५ को सरकारमा छौँ । उपधारा ५ मा कसले पु¥याएको हो ? यो त एमालेले पु¥याएको हो नि ! माओवादीलाई सरकारको नेतृत्वमा पुग्न नदिनका लागि यो अवस्थामा एमालेले पु¥याएको हो ।’
यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने संवैधानिक र कानुनी आधार के हुन् ? यो विषयमा दलहरू साथै संविधानविद् र कानुनका जानकारहरूसँग छलफल हुनुपर्ने नेता आङ्बोको जिकिर छ ।
अहिले उत्ताउलो र उट्पट्याङ तरिकाले सरकारको विपक्षमा र माओवादीसहित गठबन्धन दलहरू सरकारबाट फिर्ता हुनुपर्छ भनिरहेको अवस्था छ,यो अधैर्यता हो र यसले राजनीतिक निष्कर्ष निस्कँदैन ।’
तत्काललाई विकल्प नसोचेको आङ्बो बताउँछन् । केन्द्रमा कुनै सहमति नभएका कारण प्रदेशमा नयाँ सरकार गठन गर्नेबारे कुनै छलफल नभएको पनि उनले बताए । ‘नयाँ गठबन्धन अनुसार समग्र प्रदेशहरूको बारेमा के गर्ने भन्ने विषयमा ठोस समझदारी बनिसकेको छैन ।
माओवादीका नेता आङ्बोलाई मुख्यमन्त्री बन्न नदिने भन्दै यसअघि एमालेले कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो ।
एमाले नेता कार्कीकै अगुवाइमा कांग्रेस नेता कार्कीलाई मुख्यमन्त्री बनाउन भूमिका खेल्दा अहिले समस्या आएको आङ्बोको बुझाइ छ । माओवादीले त्यस घटनाको विषयमा समीक्षा गरेर मात्रै अगाडि बढ्नसक्ने नेता आङ्बोले बताए ।

यता, मुख्यमन्त्री कार्की भने कोशी प्रदेशमा जबर्जस्ती गरे रुक्माङ्गत कट्वाल काण्ड दोहोरिने चेतावनी दिँदै आएका छन् । ‘यो सरकार विरूद्ध बलजफती गर्ने र संविधान विपरीत केही गर्न खोजिए तत्कालीन प्रधानसेनापति रूक्माङ्गद कटुवालको घटना दोहोरिने छ,’ मुख्यमन्त्री कार्कीको चेतावनी छ ।
उनले दिएको चेतावनीको सोझो अर्थ प्रदेश प्रमुख पर्शुराम खापुङतर्फ लक्षित छ । आफ्नो नेतृत्वको सरकारको विकल्प खोजेर नयाँ सरकार बनाउने प्रयासमा प्रदेश प्रमुख पनि सहभागी बने खापुङलाई नै राजीनामा दिन बाध्य बनाउने मुख्यमन्त्रीको चेतावनी रहेको मुख्यमन्त्री कार्कीका निकटस्थहरू बताउँछन् ।