२०८१ श्रावण १२

बागमती प्रदेश सरकार पुनः धरापमा, हाम्रो नेपाली पार्टीद्धारा समर्थन फिर्ता ।

काठमाण्डौँ, हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता यथावत् रहेको जनाएको छ ।
शुक्रवार हेटौँडामा हाम्रो नेपाली पार्टीले पत्रकार सम्मेलन गरी सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता निरन्तर रहेको जनाएको हो । पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले प्रदेशको मन्त्रीमा शपथ लिएको एक दिनपछि प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाएका छन् ।


केन्द्रीय समितिको निर्णयविपरीत पार्टीका प्रदेश सभा सदस्य बज्राचार्य मन्त्री बन्नुभएको छ जुन पार्टीलाई स्वीकार्य छैन, अध्यक्ष घिमिरेले भने । सत्तारुढ दलहरूबाट राजनीतिक अपहरण गरी मन्त्री बनाउने काम भएको छ यसले राजनीतिमा विकृति सिर्जना गरेको छ ।
पार्टी प्रवक्ता रोहन कार्कीले बागमती प्रदेशमा सत्तारुढ दलबाट फोहोरी खेल भएको भन्दै जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र पार्टी निर्णयविपरीत गएमा कारबाही गरिने बताउनुभयो ।
मंगलबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र अब मन्त्रीमा नजाने बताएका छन् । हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यले दुई दिनमा नै आफ्नो बोली फेर्दै मन्त्री पदमा शपथ लिन पुगेका थिए ।
हाम्रो नेपाली पार्टीले इमेलमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पठाएको बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।